लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा सहदेव गिरी निर्वाचित भएका छन् ।
आइतबार चार्ल्टनमा सम्पन्न मन्दिर व्यवस्थापन समितिको अधिवेसनले गिरीको नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मत बनाएको हो । अध्यक्ष निर्वाचित गिरी यसअघि मन्दिर व्यवस्थापन समितिमा उपाध्यक्ष थिए ।
यसै बीच नयां कार्यसमितिको उपाध्यक्ष नरेन्द्र कंडेल , महासचिव दासुराम पाण्डे , सचिव गणेश बांस्तोला र कोषाध्यक्ष गोपाल अर्याललाई चयन गरिएको छ । नव निर्वाचित कार्यसमितिलाई मन्दिर निर्वाचन समितिका संयोजक होम शर्माले शपथ ग्रहण गराएका थिए । यसअघि अध्यक्ष बालजंग अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेसनमा महासचिव अर्जुन गौतमले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष सहदेव गिरीले स्वागत मन्तव्य दिए ।
अधिवेसनको सुरुमा पण्डित निलहरि घिमिरे र विनोद पन्थीले गायत्री मन्त्राच्चारण गरेका थिए । अधिवेसनमा महासचिव अर्जुन गौतमले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र अध्यक्ष बालजंग अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । त्यस्तै मन्दिरको विधान समितिको तर्फबाट संयोजक कर्ण शाहीले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए ।






