मेलम्ची अर्को दसैमा!

सिन्धुपाल्चोक- यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ। दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको मुहान अम्बाथानबाट २७.५ किलोमिटर लामो सुरुङ बनाएर मेलम्चीको पानी राजधानीमा वितरण गर्न लागिएको हो। सन् २००१ मा काम सुरु गरिए पनि अझै सुरुङ खन्ने काम २.१९ किलोमिटर बाँकी छ भने सुरुङ पूरै प्लास्टर गर्ने काम पूर्ण भएको छैन।

विभागीय मन्त्रीसहित मेलम्चीको मुहान र सुरुङ अवलोकनका लागि बुधबार मध्याह्न मेलम्ची आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि अल्झिएको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिए।

उनले सुरुङ खन्ने काममा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसँग भने, ‘राष्ट्रिय गौरवको आयोजना हो, राजधानीवासी मेलम्चीको पानी पर्खेर बसेका छन्। पैसाको चिन्ता नगर्नोस्, काम चाँडो सक्नोस्।’ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीलाई पुर्ययाउनुपर्छ भनेर मेलम्ची खानेपानीको अवधारणा सुरु गरेका थिए।