लमजुङ- मर्स्याङ्दी नदीमा ट्रक खस्दा बुधकार एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मर्स्याङ्दी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेर हो ।
दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन् । दुवैलाई स्थानीयले उद्धार गरी उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिनुभयो ।
नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ । ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान थिए । स्थानीय पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन् ।






