सत्तारुढ र राजपाबीच कुरा मिलेन, संशोधन नभए राजपा चुनावमा नजाने

काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपा नेपालले संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने अडान लिएपछि सत्तारुढ दल र राजपाबीचको बैठक ठोस निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालका शीर्ष नेताको बैठकमा सत्तारुढ दलले तत्काल संविधान संशोधन गर्न नसक्ने बताएपछि बुधबारको बैठक बिनानिष्कर्ष सकिएको हो ।

बैठकमा सत्ता पक्षले आवश्यक दुई तिहाई बहुमतको अभावमा तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेपनि यसबारे छलफल जारी राख्ने राजपा नेपाललाई जानकारी गराएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले संशोधन बाहेक मधेसका आन्दोलनकारीका मुद्दा फिर्ता लिने, सख्त घाइते तथा गम्भीर अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहको प्रबन्ध गर्ने, स्थानीय तहको सङ्ख्या थप गर्ने जस्ता माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको बताउनुभयो । संविधान संशोधनका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन नसकेको भन्दै उहाँले यथास्थितिमा निर्वाचनमा जाने बारेमा सोच्न नसकिने बताउनुभयो । प्रदेश नं– २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गतेका लागि तय भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष ठाकुरलगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।