आगलागी हुँदा ज्वाँइसहित चारको मृत्यु

धादिङको धुषा गाउँ विकास समिति वडा नम्बर १ चरौदीस्थित घुम्तीमा एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती करिब २ बजेतिर विद्युत सर्ट भई रामप्रसाद थपलियाको घरमा आगलागी हुंदा छोरा किशोरचन्द्र थपलिया, किशोरचन्द्रका छोरी योजना थपलिया, पोखरा निवासी ज्वाई अनिल जिशी, र नातीनी रोजेट जिशीको मृत्यु भएको हो ।
राती सुतिरहेको अवस्थामा एक्कासी आगलागी भएपछि ससुरालीमा पाहुना लाग्न आएका अनिल, माइत आएकी योजना र मामाघर आएका राजेटको घटन स्थलमै मृत्यु भएको हो ।
आगलागीमा परी किशोरचन्द्रकी श्रीमती कर्णकुमारी थपलिया गम्भीर घाइते भएकी छिन् । घाइते थपलियालाई उपचारको लागि काठमाडौ लगिएको छ । आगलागीले घरमा पुरै क्षति पुगेको छ । घरमा रहेका सुन, नगद रुपैया र लत्ताकपडा गरी ५० लाख भन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।