काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा भाग लिने बाटो खुलेको छ । निर्वाचन आयोगमा दर्ता भएपछि अब सो दलले पनि चुनावमा भाग लिने बाटो खुलेको हो ।
पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार गरेका राजपा नेपाल तेस्रो चरणको चुनाव नजिकिँदै जाँदा राजपाले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराएको हो । असोज २ गते २ नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको चुनाव हुँदैछ । मधेशवादी दलहरुसँगको सहमतिका लागि नै सरकारले असोज २ गतेका लागि दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव सारेको थियो ।
दोस्रो चरणको चुनावमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर दुई ठाउँमा जित हासिल गरेका राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिने तयारी पनि थालिसकेको छ ।
अन्य प्रदेशभन्दा राजपा नेपालको दुई नम्बर प्रदेशमा पकड भएको कारणले आफ्नो पकड नगुमाउनका लागि चुनावमा भाग लिने राजपा नेपालका एक नेताले बताए । सविधान संशोधनबाहेक अन्य मागहरु सरकारले पूरा गर्ने भनेको छ ।
केही न केही पक्कै पनि गर्ला भन्ने आशमा राजपा नेपाल चुनावको तयारीमा लागेको छ । त्यसैको तयारी स्वरुप शुक्रबार उनीहरुले पार्टी पनि दर्ता गराएका छन् ।
राजपा नेपाल चुनावमा भाग लिने तयार भए उनीहरुले माग गरेको चुनाव चिन्ह छाता पनि दिने सरकारले प्रतिवद्धता जनाइसकेको छ ।
यद्यपी राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले दल दर्ता गराउँदैमा चुनावमा भाग लिनुपर्छ भन्ने नभएको उल्लेख गर्दै आफूहरुको माग पूरा गरेर चुनावको वतावरण बनाए मात्र चुनावमा भाग लिने प्रतिक्रिया दिए । उनले भने, ‘सरकारसँग शुक्रबार वार्ता छ, त्यसमा के कुरा हुन्छ त्यसपछि मात्र केही भन्न सकिन्छ ।’
चुनावका भाग लिने नलिने विषयमा छलफलका लागि राजपा नेपाललाई वार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएएका छन् । वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि रहने बताइएको छ ।






