एमालेको अग्रता कायमै

काठमाडौं– स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता लिइरहेको छ । कांग्रेसले उसलाई पछ्याइरहेको छ ।

शनिबार बिहान सवा ७ बजेसम्मको मतपरिणामअनुसार एमालेले २९ वटा स्थानमा प्रमुख जितेको छ भने कांग्रेसले २३ स्थान हासिल गरेको छ । माओवादी केन्द्रले १३ स्थानमा जितेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको मल्लरानी गाउँपालिका प्रमुख जितेर विजयी खाता खोलेको छ । थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो ।

डडेलधुराको अमरगढी र दार्चुलाको महाकाली नगरपालिकाको पनि परिणाम आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लाको सदरमुकामसमेत रहेको अमरगढीमा एमालेले जितेको छ । दार्चुलाको महाकालीमा भने कांग्रेस विजयी भएको छ ।

महानगर र उपमहानगरको गणना केही सुस्त छ । ती स्थानमध्ये विराटनगर उपमहानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । सात उपमहानगरमध्ये धनगढी, इटहरी र धरानमा पनि कांग्रेसकै अग्रता छ । बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा एमालेको अग्रता छ । बाँकेको नेपालगन्ज उपमहानगरमा भने राप्रपा नेपालका उम्मेदवार धवलशमशेर राणाले अग्रता लिइरहेका छन् ।