स्थानीय निर्वाचन परिणाम : देशका प्रमुख शहरमा कुन कुन पार्टीको हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं– दोस्रो चरणमा सम्पन्न ३३४ स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसैक्रममा एक महानगरपालिका र सात उपमहानगरपालिकासहित मुख्य नगरपालिकामा आएको प्रारम्भिक परिणाममा नेपाली काँग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

कान्छो महानगरको उपमा पाएको विराटनगर महानगरपालिकामा बिहीबार बेलुकाबाट सुरु भएको मतगणना अत्यन्त धिमा गतिमा भइरहेको छ । शुक्रबार बिहान १० बजेसम्म यो महानगरको जम्मा ३ सय मत मात्र गनिएको छ । जसमा कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली १५२ मत ल्याएर अगाडी छन् । त्यस्तै दोस्रोमा एमालेका विनोद ढकाल ९७ र माओवादी समाजवादी फोरमका उमेश यादवले ७ मत ल्याएका छन् ।

विराटनगरमा ७ स्वतन्त्रसहित १४ जनाले मेयर र ५ स्वतन्त्रसहित १० जनाले उपमेयरमा चुनावी प्रतिपर्धा गर्दैछन् । यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा छ भने एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरमबीच तालमेलमार्फत चुनाव लड्दैछन् त्यस्तै कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई चुनावमा लडाएको छ ।

विराटनगरमहानगरपालिकापछि दोस्रो चर्चामा रहेको बुटवल उपमहानगरमा पनि प्रारम्भिक चरणमा कांग्रेस र एमालेबीच नै प्रतिश्पर्धा देखिएको छ । बुटवलमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले १४४० मत ल्याउँदा एमालेका शिवराज सुवेदीले १६१८ मत ल्याएका छन् । एमालेको किल्ला भनिने बुटवलको यस पटकको चुनावी परिणाम कसको पक्षामा जाला भन्ने कौतुहलता मतदाताहरुमा हुन थालेको छ । बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि एमालेको विरासत जोगिएला या गुम्ला भन्ने प्रश्नहरु उठन थालेका छन् । एमालेका नेता विष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्ने बुटवलमा निर्णायक मतदाता भने सुकुम्बासी रहेका छन् ।

बुटवलपछि धनगढी उपमहानगरको मत परिणामप्रति बढी नै चर्चा हुन थालेको छ । त्याहको सुरुवाती मत गणनामा माओवदी र एमाले जस्ता ठूला दललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार अगाडी आएपछि धनगढीको चर्चा थप चुलिएको हो । धनगढी उपमहानगरमा अहिलेसम्म काँग्रेस उम्मेदवार नृप बडले १८४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६६ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै एमालेका दुर्गा जोशीले ४० मत ल्याएर तेस्रो स्थान कायम गरेका छन् ।

धनगढीमा तीन दल कसैसँग चनावी तालमेल नगरी नै चुनावमा प्रतिश्पर्धा गर्दैछन् । एक्लाएक्लै चुनाव लडेका प्रमुख दलले नै आफै जित्ने दावी गरिरहेका छन् । खासगरी कांग्रेसको वर्चश्व रहेको भनिएको यो उपमहानगरमा कांग्रेसबाट नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्रलाई उपमेयरमा लड्दैछन् । धनगढीमा एमालेले मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणि देवकोटा तथा माओवादी केन्द्रले रामसमज रानालाई मेयर र शान्ति अधिकारी क्षेत्रीलाई उपमेयरमा अघि सारेको छ । त्यस्तै, राप्रपाले मेयरमा विष्णु शाह र उपमेयरमा जनककुमारी कुँवर, लोकतान्त्रिक फोरमले प्रेम बिसीलाई मेयरमा र दुर्गा कुश्मीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

उता, काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले चुनाव जितेको क्षेत्र नेपालगञ्ज उपमहानगरमा सुरुवाती मतगणनाको परिणाम एमाले उम्मेदवारको पक्षमा देखिएको छ । यहाँ एमालेका समशुद्धिन सिद्धिकीले १३६ मत ल्याउँदा कांगे्रसका डा.सुरेशकुमार कनोडियाले १२२ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका दामोदर आर्चायले ५७ मत मात्र ल्याएका छन् । नेपालगञ्जमा कांग्रेसका लागि पुरानो विरासत जोगाउन र एमाले माओवादीलाई कांग्रेसको वर्चश्व तोड्नुपर्ने चुनौती छ । त्यस्तै, राप्रपाले डा. धवलशमशेर राणा र उपमेयरमा रमारानी वैश्यलाई उम्मेदवार बनाएको नेपालगञ्जमा राप्रपाको पनि राम्रै मत खस्ने अनुमान गरिएको छ ।