तीनवटा प्रदेशको जनतालाई चुनावको साथ, दुई नम्बर जनताको पुर्पुरोमा हात

मोरङ– दुई नम्बर प्रदेशको दुईतिर रहेको प्रदेश नम्बर एक र पाँचमा मतदान गरेर मधेशी जनता उत्साहित छन् भने दुई नम्बरका जनता बन्दको पीडामा छन् ।

दुवैतिर चुनाव छन्, जनताहरु उत्साहित भएर चुनावमा भाग लिइरहेका छन् तर दुई नम्बर प्रदेशका जनता आम हड्तालको पीडा खेपिरहेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले बुधबार भएको स्थानीय तहको चुनावकोविरुद्धमा तराई मधेश, थरुहट र लिम्बुवान बन्द गरे ।

तर राजपा नेपालको त्यो बन्दको प्रभाव चुनाव हुने कुनै पनि प्रदेशमा देखिएको छैन । बरु चुनाव नभएको दुई नम्बर प्रदेशमा मात्र त्यसको प्रभाव परेको छ । एक नम्बर प्रदेशको झापा, मोरङ र सुनसरीका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले समेत मतदान गरेका छन् ।

उता, पाँच नम्बर प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी, भैरहवा सात नम्बर प्रदेशका कैलाली, कञ्चनपुर र बर्दिया लगायतका जिल्लाका राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले मतदान गरेका छन् ।

नाम चलेका केन्द्रीय नेताहरुले आलोचनाको डरले मतदान गरेका छैन भने जिल्लाका समान्य कार्यकर्ता तथा नेताहरुले मतदान गरेका छन् । पाँच नम्बर प्रदेश कपिलवस्तुको आफ्नो चुनावी क्षेत्रमा रहेका राजपा नेपालका बृजेश गुप्ताले आफूले मतदान नगरेको बताए । उनले राजपा नेपालले चुनावमा मतदान गर्न वा उम्मेदवारी नदिने आह्वान गरेको तर त्यो आह्वानलाई कसैले उलंघन गरेर मतदान गर्न गए भने त्यसलाई आफूहरुले केही गर्न नसकिने बताए । उनले भने, ‘कसैको घरघरमा गएर रोक्न सकिदैन नि ।’

राजपा नेपालका अर्का महासचिव रामलाल सुतिहार पाँच नम्बर प्रदेश मोरङ विराटनगरका हुन् । उनी पनि चुनाव भएका ठाउँमा घुमफिर गरी अवलोकन गरेपनि कहिँ मतदान गरेनन् तर राजपा नेपालका अन्य कार्यकर्ताहरुले मतदान गरेको उनले स्वीकार गरे । उनले पनि गुप्ता जस्तै प्रतिक्रिया दिँदै भने, समान्य कार्यकर्ताहरुले मतदान गरेका छन् उनीहरुलाई रोक्न सकिदैन, चुनावपछि यसकोबारेमा छानविन हुन्छ ।’

स्थानीय तहको चुनावको विरोध गर्ने राजपाको निर्णय थियो तर सडकमा सेना उतारेपछि त्यो सम्भव नभएको उनले प्रतिक्रिया दिए । उनले भने, हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौ, नेपाली सेनासँग लड्न सक्दैनौ त्यही भएर विरोध गरेनौ ।’

दुई नम्बर प्रदेशको बारामा रहेका राजपा नेपालका अर्का महासचिव जितेन्द्र सोनलले तराई मधेशमा राजपा नेपालले बन्दको घोषणा गरेको बताउँदै उनले जहाँ जहाँ राजपा नेपालको कार्यकर्ता रहेको त्यहाँ त्यहाँ आन्दोलन सफल भएको दाबी गरे ।

चुनाव विथोल्नका लागि राजपा नेपालले घोषणा गरेको हो तर त्यसलाई रोक्न आफूहरुले बन्दुक उठाउने होइन, हिंसावादी आन्दोलनमा आफूहरु विश्वास गरेको हुनाले शान्तिपूर्ण आन्दोलनले जहाँ जहाँ सकियौं त्यहाँ आन्दोलन सफल भएको बताउँदै उनले भने, ‘नवलपरासीमा विभिन्न ठाउँमा राजपा नेपालका कारण मतदाताहरु मतदान गर्न गएको छैन, दुईजनाले मात्र खसाएका छन् ।’

तर महासचिव सोनलले दावी गरेको जस्तो त्यहाँ होइन । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ भुदहवा मतदान केन्द्रमा दुईजनाले मात्र मतदान गरेको कुरा सही हो । त्यहाँ चारसय ६३ जना मतदाता रहेका छन् । पछिल्लो समय भएको स्थानीय पुनः संरचनामा केही वडालाई सरावल गाउँपालिकामा मिलाएको विरोधमा त्यहाँका जनताहरुले चुनाव बहिष्कार गरेको बताइएको छ ।

स्थानीय तहको चुनावमा राजपा नेपालका नेता तथा कार्यकर्ताले मतदान गरेका छन् नि भनि जिज्ञासामा उनले भने, ‘जसले यो स्थानीय तहको चुनावमा मतदान गर्नुभएको छ, उहाँहरु राजपा नेपालको नेता तथा कार्यकर्ता होइन, उहाँहरुलाई कारवाही हुन्छ ।’

सिरहा गोलवजारका जितेन्द्र साहले भने,– ‘राजपा नेपालका कारण दुई नम्बर प्रदेशका जनता अनिर्णयको बन्दी बनेका छन्, उनीहरुको कारण यो दुई नम्बर प्रदेशको भविष्य के हुने हो थाहा छैन, तर एउटा कुरा स्पष्ट छ, अब अरु प्रदेशको तुलनामा यो धेरै पछाडि परिसकेको छ ।’

गोलबजारम व्यवसायी गर्दै आएका साहले छिमेकी जिल्लामा चुनाव भइरहेका छन्, त्यहाँ जनता उत्साहित भएर चुनावमा भाग लिएका छन् तर दुई नम्बर प्रदेशका जनता बन्द हड्तालको मारमा परेर टाउको हात लिएर बसेको उनले टिप्पणी गरे ।