सचिव सरुवा स्वभाविक प्रक्रिया हो, यसले कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौमा भएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको सरुवाले निर्वाचनलाई कुनै पनि असर नपर्ने बताएका हुन् ।
उनले भने,‘सचिवको सरुवाले निर्वाचन सम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अडचन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुरुस्तकासाथ अघि बढेका छौं, निर्वाचन आयोग प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन ।’

साक्षात्कारमा बोल्दै यादवले आयोगका सचिवको सरुवालाई आफूहरुले सहज रुपमा लिएको समेत स्पष्ट पारे । उनले भने,‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ, तर आयोगले यसलाई सहज रुपमा लिएको छ, यो एउटा स्वभाविक प्रक्रिया हो, त्यही अनुसार सरुवा भएको हो ।’

प्रमुख निर्वाचन आयुक्त यादवले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको उल्लेख गर्दै निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनका लागि आम मतदाताहरुलाई आग्रह समेत गरे ।
उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, आममतदाताहरुलाई म विनम्र अनुरोध गर्न चाहन्छु निर्भिकतापूर्वक मतदान गर्नुहोस्, एक दिन राष्ट्रको लागि दिनुहोस् ।’