किंग्स्टनले जित्यो अन्तर विश्वविद्यालय नृत्य प्रतियोगिता

IMG_1104

Photo: Milan Tamu

लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच हरेक वर्ष संचालन हुने अन्तर विश्वविद्यालय नृत्य प्रतियोगिता यसवर्ष किंग्स्टन विश्वविद्यालयले जितेको छ । गत शुक्रबार एम्पाएर हल अल्डरसटमा आयोजित सो प्रतियोगितामा प्रथम हुँदै किंग्स्टन विश्वविद्यालयले ४०० पाउण्ड नगद पुरस्कार र ट्रफी हात पारेको हो । यसैगरी दोस्रो स्थान युनिभर्सिटी अफ वेष्ट लण्डन र तेश्रो स्थान रेडिङ युनिभर्सिटीले जित्यो । उनीहरुले क्रमशः २०० र १०० पाउण्ड नगद पुरस्कार जिते । प्रतियोगिताका निर्णायकहरुमा समिर गुरुङ, भावना जिमी र सुजाता राई थिए । कार्यक्रममा डान्स इण्डिया डान्स र झलक दिखला जाकी विजेता तेरिया मगर प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा किंग्स्टन, ब्रुनेल, रेडिङ, इष्ट लण्डन, मिडलसेक्स,बोर्नमाउथ र लण्डन साउथ ब्यांक विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी समाजले भाग लिएका थिए । यसवर्षको प्रतियोगिताको आयोजना युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड नेपाली विद्यार्थी समाजले गरेको थियो । कार्यक्रमलाई पर्चा प्रोडक्सन, इम्पाएर हल, गोरखा भान्सा घर, द सिंग्नेचर, बीफेष्ट, सपन इन्टरटेनमेण्टले प्रायोजन गरेका थिए । कार्यक्रममा ललिता थापा, भावना जिमी र प्रताप थापाले विशेष नृत्य देखाएका थिए । आयोजक समाजका अध्यक्ष सन्देश रानाको सभापतित्वमा भएको सो कार्यक्रम दिनेश रोका, अमिर श्रीश र रितु राईले संचालन गरेका थिए ।