काठमाडौं– पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरुले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचनमा जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरु अन्य पार्टीमा जान थालेका हुन् ।
राजपा छाडेका अधिकांश नेताहरु उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरु भने फोरम लोकतान्त्रिकमा आवद्ध भएका छन् । पार्टी छाडेका केही नेता राप्रपामा प्रवेश गरेका छन् ।
राजपाका सहमहामन्त्री समीम अन्सारी एमालेमा प्रवेश गरेका छन् । बाराका अन्सारीले आफूसहित एक सय राजपाका कार्यकर्तालाई एमालेमा प्रवेश गराएको दावी गरेका छन् ।
राजपाका केन्द्रीय सदस्य भीमराज यादव फोरम नेपालमा प्रवेश गरेका छन् । उनले सप्तरीको राजविराजबाट मेयरमा चुनाव लड्ने आकांक्षा राखेका छन् । उनी सद्भावना पार्टीबाट राजपामा गएका थिए ।
त्यसैगरी महोत्तरीका राजपाका अर्का केन्द्रीय सदस्य लक्ष्मी महतो राप्रपामा प्रवेश गरेका छन् । राजपाका अर्का केन्द्रीय सदस्य रामनारायण मेहना फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाका केन्द्रीय सदस्य हरि गोले लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।






