लण्डन । मगर संघ युकेको आयोजनामा यही जुन ३ मा हुन गइरहेको नेपाल ओपन कन्सर्टमा भाग लिन झलक दिखला जा र डान्स इण्डिया डान्सकी विजेता टेरिजा फौजामगर युके आउने भएकी छिन् ।
कार्यक्रममा नेपालबाट आएका लाेक तथा अाधुनिक गीत गायन राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने छ ।
यसपटकको ओपन कन्सर्ट फार्नब्रो फुटबल क्लवको मैदानमा हुने भएको छ । सो स्थान पहिले कन्सर्ट हुने स्थानहरुभन्दा सुरक्षित र धेरै क्षमताको भएको आयोजकहरुले बताए ।

कन्सर्टमा बालबालिकाहरुका लागि बन्जी क्यासल, फेस पेन्टिङ, आइसक्रिम र अन्य रोचक खेलहरु रहने संयोजक योगकुमार फगामीले बताए । उनले बेलुका ६ बजेदेखि युवा र किशोरहरुका लागि कन्सर्ट राखिएको पनि जानकारी दिए ।
कन्सर्टको टिकट दर १० पाउण्ड राखिएको छ । साथै यस वर्षदेखि मगर संघबाहेक अन्य संस्थाबाट पनि मनोरञ्जनात्मक प्रस्तुतिहरु समावेश गरिने बताइएको छ ।
‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने नारा सो कन्सर्टको रहेको छ । मगर संघ युकेले २००७ देखि ओपन कन्सर्ट गर्दै आइरहेको छ ।







