लण्डन । लण्डनको बेक्सली नेपाली समाजले हालै एक आध्यात्मिक प्रवचन तथा अन्तरक्रियाको कार्यक्रम गरेको छ ।
भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको ‘आर्ट अफ लिभिङ’ फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रवचन दिएका थिए ।
लण्डनको वेलिंगस्थित डानसन पार्कमा सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका करिब ६० जना नेपालीहरुको उपस्थिति रहेको थियो ।
उप्रेतीले खुशी र आनन्दका साथ जीवन जिउने कलाका विषयमा उनीहरुलाई २ घण्टा लामो प्रवचन दिएका थिए । जीवनमा खुशी र आनन्द सबैलाई आवश्यक भएपनि यसको पुर्ण प्राप्ति कसैलाई नमिलेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सरल उपायहरु सिकाएका थिए ।
अन्तरक्रियात्मक शैलीमा गरिएको कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासामा प्रश्नोत्तर पनि गरिएको थियो । साथै, सहभागीहरु योगक्रियामा पनि भागलिएका थिए ।
कार्यक्रममा प्रवचन दिने उप्रेती विगत १८ वर्षदेखि आर्ट अफ लिभिङमा आबद्ध छन् ।
कार्यक्रममा सगुनका यूके संयोजक युवराज सेढाईंले स्वागत मन्तव्य दिएका थिए । बेक्सली नेपाली समाजका उपसभापतिद्धय उमा गुरुङ र बिन्दु गुरुङले तुलसीप्रसाद उप्रेतीसहित अतिथिहरु पवित्रा शर्मा, अनिल गौतम र प्रिति गौतमलाई खादा ओढाएर सम्मान गरेका थिए ।
समाजका महासचिव हरिश ज्ञवालीले यस्ता कार्यक्रमहरु समाजका सबै सदस्यहरुमाझ पुर्यायनुपर्ने धारणा राखे । कार्यक्रमका संयोजक दिपेन्द्र सिटौलाले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।






