काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ ।
नोभेम्बरको चुनाव सकिएको ४८ घण्टाभन्दा कम समयमा नै आफ्ना उत्तराधिकारी ट्रम्पसँग ओभल अफिसमा भएको भेटमा ओबामाले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएका छन् ।
सिनेट समितिमा रुसी राजदूतसँग गरेको संवादले फ्लिनमाथि ब्ल्याकमेल गरिएको टिप्पणी गरिएको थियो ।
अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग कुराकानी गरेका थिए ।
सन् २०१४ मा ओबामाले व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए ।
रुसी राजदूतसँगको सम्पर्कबारेका विवरण सार्वजनिक हुनुअघि नै ओबामाले ट्रम्पलाई चेतावनी दिएको र उनले त्यस्तो उच्च तहको पदका लागि उनी उपयुक्त नभएको ठान्ने गरेको बताइएको छ ।
फ्लिनले ह्वाइट हाउसलाई ढाँटेको सतहमा आएपछि राजीनामा दिनुपरेको थियो ।
उक्त चेतावनी दिइएको १८ दिनपछि मात्रै माइकल फ्लिनलाई राजीनामा दिन लगाइएको थियो र त्यसबीचमा उनले रुस, जापान र अन्य देशका अधिकारीसँग गोप्य सम्पर्कहरु समेत कायम राखेका थिए । (एजेन्सी)






