बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन : अध्यक्ष ओली

काठमाडौँ, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय माग गरी अध्यक्ष ओलीले सरकारले यसअघिको संविधान संशोधन प्रस्ताव फिर्ता लिनु सकारात्मक भएको धारणा व्यक्त गर्दै हाल अघि बढाएको संशोधन प्रस्ताव संविधानको मूलमर्म र भावना विपरीत भएको टिप्पणी गर्नुभयो ।

सहमतिका नाममा सरकारले चालेका कदमप्रति आफूहरु चिन्तित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “सरकारले देशलाई साँच्चै निर्वाचनको बाटोमा लैजान खोजेको हो भने सहमतिका महत्वपूर्ण छलफलमा प्रमुख प्रतिपक्ष दललाई बेवास्ता गर्नु उचित थिएन ।”

अध्यक्ष ओलीले भन्नुभयो – “हामी सहमतिको पक्षमा छौँ । समस्याको समाधान गर्ने पक्षमा छाँै । तीन तहको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा छौँ । तर यहाँ एमालेका कारण निर्वाचन नहुने हो कि भन्ने आरोप लगाउने प्रयास हुन थालेको छ ।”

सरकारले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने र त्यसको १५ दिनपछि अर्काे चरणको चुनाव गर्ने भन्ने चर्चा आफूले सुनेको बताउँदै उहाँले त्यसो भएमा निर्वाचनको निष्पक्षताको अनुभूति नहुने धारणा व्यक्त गर्नुभयो ।