स्वदेशी उत्पादनबाटै लोडसेडिङ अन्त्य गर्ने प्राधिकरणको योजना

केही आयात बढाएर र उर्जा वितरणलाई व्यवस्थित गरेर लोडसेडिङ न्यूनिकरण गरेका नेपाल विद्युत प्राधिरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अब स्वदेशी उत्पादनबाट लोडसेडिङ मुक्त नेपाल बनाउने बताएका छन्।
काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले स्वदेशी उत्पादनबाटै लोडसेडिङ अन्त्य गर्ने योजना बनाएको जानकारी दिए।
नियमित बिजुली आपूर्तिको कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको र भविष्यमा यसको प्रभाव प्रष्टसँग देखिने बताउँदै घिसिङले आर्थिक विकासको लागि पनि बिजुली आपूर्ति अनिवार्य भएको स्पष्ट पारे।
हाल निर्माणधिन रहेका आयोजनाहरुलाई निर्धारित समयमै सम्पन्न गर्ने र अबको एकवर्षभित्र स्वदेशी उत्पादनबाटै नेपाल उज्यालो बनाइने घिसिङको दाबी छ।
उनका अनुसार ४५ मेगावाटको चमेलिया अबको ३÷४ महिनामा सम्पन्न् हुने भोटेकोशी पनि एकवर्षभित्र निर्माण हुने लाइनमा रहेको र अन्य आयोजनाहरु पनि निर्माणको क्रममा रहेकोले अबको बढीमा दुईवर्षभित्र नेपाल स्वदेशी उत्पादनमै उज्यालो हुने छ।
बिजुली उत्पादनसँगै सुरक्षित र भरपर्दो वितरण प्रणाली बनाउनको लागि प्रसारण लाइन निर्माण,अपग्रेडको कामलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढाइएको उनको दाबी छ।

(सेतोपाटी बाट)