काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा शनिबार सम्बोधन गरेका छन् ।
सो सम्मेलनमा सहभागि हुनको लागि प्रचण्ड बिहिबार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार राती त्यसतर्फ प्रस्थान गरेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरे ।
नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर पर्याप्त रहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना छ ।
प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन चीन गएका हुन् ।
बोआओमा रहँदा प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गरेका थिए ।
प्रचण्ड आज बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्नेछन् ।
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध : समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।






