आज फूलपाती, घर घरमा फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उनले बताए ।