लन्डन– चम्ल्याहा बच्चा जन्माएर तीन वटा जीवितै हुर्काइरहेका गुल्मीका जनक कुँवरको परिवारलाई गुल्मी जिल्ला समाज युकेले आर्थिक सहयोग गरेको छ।
बेलायतसहित भारत र नेपालका सहयोगीबाट संकलित २ लाख ८ हजार ८ सय २५ रुपैयाँ बिहीबार काठमाडौंमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको छ । समाजका कार्यसमिति सदस्य राजु मल्लको नेतृत्वमा आर्थिक संकलन भएको थियो ।
बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको कार्यक्रममा मल्लले चम्ल्याहाका बाबु जनक कुँवरलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा समाजका सल्लाहकार एवम् नेपाल पर्यटन बोर्ड बेलायतका पर्यटन दूत पशुपति भण्डारी, पूर्वउपाध्यक्ष एवम् सल्लाहकार विनोद ज्ञवाली ,उपाध्यक्ष राजन खरेल, महासचिव शिव भण्डारी र गुल्मी जिल्लाको हर्दिनेटा गाविसको चोयगामा जन्मिएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोकबहादुर टण्डनलगायतको उपस्थिति थियो ।
कार्यक्रममा ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोकबहादुर टण्डनले विदेशमा बस्ने नेपालीहरुबाट प्राप्त सहयोगले नाबालकको स्याहारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देशविदेशबा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरे ।
बेलायतका पर्यटन दूत पशुपति भण्डारीले बच्चाको उपचारमा सहयोग गर्ने ग्रीनसिटी अस्पतालसहित सहयोगदातालाई धन्यवाद दिए । उनले प्रवासमा बस्ने नेपालीहरुले विगतमा पनि मानवीय सहयोगका लागि योगदान दिंदै आएको चर्चा गर्दै गुल्मी जिल्ला समाज, यूके बेलायतमै नमूना सामाजिक संस्था रहेको बताए ।
सहयोग अभियान संयोजक राजु मल्लले आफूले फेसबुकमार्फत कुँवर दम्पतीलाई समस्या परेको थाहा पाएपछि आर्थिक सहयोग गरेको बताइन् । उनले व्यक्तिगतरुपमा तत्कालै ५० हजार सहयोग गरेको उल्लेख गरिन् ।
समाजका पूर्वउपाध्यक्ष एवम् सल्लाहकार विनोद ज्ञवालीले सामाजिक कार्यमा आफ्नो संस्थाको सहयोग निरन्तर रहने जानकारी दिए ।
२०७२ साल पुस ३० गते जनक पत्नी गीताले लुम्बिनी मेडिकल कलेज पाल्पामा चारजना बच्चालाई जन्म दिएकी थिइन् ।
एकैपटक कम तौलका चारवटा सन्तानलाई जन्म दिएका कुँवर दम्पतीलाई बच्चा जन्मिएको खुसी भन्दापनि उपचार र स्याहार गर्न समस्या भएको थियो । आँखाको समस्या भएपछि एक शिशुको मृत्यु भएको थियो ।
आर्थिक अवस्था कमजोर भएका कारण एक वर्ष अघि मलेसियामा वैदेशिक रोजगारमा पुगेका कुँवर विदेशमा पनि राम्रो कमाई नभएपछि घर फर्किएका थिए। यस अघि २०७० सालमा पनि कुँवर दम्पतिका जुम्ल्याहा बच्चा जन्मिएकोमा केही दिनमै मृत्यु भएको थियो।
https://youtu.be/_Ycc1qFqJQ4






