भक्तपुर, २५ माघ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा आजबाट सुरु भएको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको बताउँदै उहाँले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
“थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, नेपाली काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको जिम्मेवारी पनि तीन दलले लिनुपर्छ”–बिजुक्छेले भन्नुभयो “ठूला दलले आफ्नो स्वार्थ पुरा गर्न साना दललाई सरकारमा लैजाने, अनि थ्रेसहोल्ड नराख्दा अस्थिरता आउँछ भन्नु गलत हो ।”






