निगमले वाइडबडी एयर बस थप्दै जाने

काठमाडौँ, २४ माघ । नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयर बस थप्ने महत्वकाङ्क्षी सोच अघि सारेको छ ।

एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्दै जाने योजना लिएको बताउनुभयो ।

निगमका सञ्चालक समितिले स्वीकृति दिएपछि अमेरिकाको एएआर कम्पनीसँग वाइडबडीका विषयमा समझदारीपत्रमा हस्ताक्षर भई खरिद गर्नेसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनुभयो ।

निगमले वाइडबडी खरिद सम्झौता आगामी चैत महिनासम्ममा गर्ने लक्ष्य निर्धारण गरेको छ । उक्त जहाजको मूल्य करिब रु १० अर्ब ९२ करोड पर्ने बुझिएको छ । वाइडबडी नेपाल भित्रिएपछि निगमको व्यावसायिक योजनाअनुसार दमाम, सिओल, सिड्नी, टोकियोजस्ता नयाँ गन्तव्यमा उडान भरिनेछ ।

नेपालको पर्यटन विकासका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सरोकार निकायसँग धेरै पटकको वार्ता र छलफलपछि राष्ट्रिय ध्वजावाहक विमान सेवालाई माथि नल्याएसम्म पर्यटन क्षेत्रको विकास र विस्तार नारामा मात्र सीमित हुने निष्कर्षका साथ वाइडबडी खरिद गर्ने निचोडमा पुगेको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।