काठमाडौं, ६ माघ । नेकपा एमालेले एकीकृत नेकपा माओवादीसँग तत्काल वार्ताको सम्भावना नरहेको बताएको छ । एमालेको मंगलबार दिउँसो संविधानसभा भवनमा बसेको स्थायी समितिको आकस्मिक बैठकले एमाओवादी संविधान बनाउन प्रतिबद्ध नरहेको भन्दै तत्काल वार्ताको सम्भावना नरहेको बताएको हो ।
बैठकले एमाओवादीसँग वार्ताको आवश्यकता नै नरहेको भन्दै दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाएर प्रश्नावली समिति बनाउन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेको छ ।
एमालेले संविधानसभाको बैठक कक्षमा एमाओवादी लगायतका विपक्षी दलहरुले गरेको तोडफोडलाई असभ्य, अराजक र हिंस्रक भनी टिप्पणी गरेको छ । बैठकले तोडफोडमा संलग्न सभासद्माथि कारवाही गर्न तथा तोडफोडबाट भएको क्षति सम्बन्धित सभासदबाट भराउन माग गरेको छ ।
एमालेले आफ्ना संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारीमाथि एमाओवादीले जानाजान माइक प्रहार गरेको दाबी पनि गरेको छ ।
स्थायी समितिको बैठक अघि बसेको एमालेको संसदीय दलको बैठकले पनि एमाओवादी संविधानसभाबाट संविधान बन्न नदिनका लागि तोडफोड र आक्रमणमा उत्रिएको ठहर गरेको छ ।






