बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् । एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा (एमाले) निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो । झडपपछिसदरमुकाम कुस्मा बजार तनावग्रस्त भएको थियो ।
बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल ¥याली शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएको बताइएको छ । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।
बन्दकर्ता भागे
युवाहरु मोटरसाइकल ¥यालीसहित उत्रिएपछि बन्दकर्ता भागेका छन् । प्रतिकारमा उत्रिएका युवाले बजारसमेत खुलाएका छन् । बन्दको विरोधमा उत्रिएका युवाको अगुवाइ सङ्घले गरेको थियो । सङ्घका कार्यकर्ता, तरुण दल, नेविसङ्घ र व्यापारीसमेत प्रतिकारमा उत्रिएका थिए । कुस्माबजारमा झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दको समयमा हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन । यातयात, शिक्षणसंस्था र बजार खुलेका छन् ।






