सिडीओ बन्न ‘कांग्रेसको एग्रिमो’, गृहका तिन सह–सचिव हाजिर गर्दै टाप ठोक्दै !

काठमाडौं – ‘पत्याउनुहुन्छ ?’ नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आफ्नो जिल्लामा दिपक काफ्लेलाई सिडीओ बनाएर ल्याउनका लागी निर्णय नै गरेको थियो । कार्यसमितिको सोही निर्णय अनुसार गएको पुस पहिलो साता दाङबाट सह–सचिव काफ्ले ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भए ।

रसुवा कांग्रेसको एग्रिमो ल्याउन सफल भएका कारण उप–सचिव सोमेन्द्र न्यौपानेले रसुवाको प्रमुख जिल्ला अधिकारीको बागडोर सम्हाल्न पाए ।
सह–सचिव हिमनाथ दवाडी कांग्रेसभित्र धेरैको प्रिय पात्र मानिन्छन् । कांग्रेस मैत्री दवाडीका लागी काठमाडौंबाट निर्वाचित शक्तिशाली सांसदको सिफारिस ल्याउन कुनै समस्यानै भएन् । त्यसैको परिणाम ८ महिनामात्र काम गरेका रामकृष्ण सुवेदी गृहमन्त्रालय तानिए ।

गृहमन्त्री विमलेन्द्र निधिले गएको असोज ८ गते कारागार विभागका डिजी रहेका दवाडीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिदिए । केही महिनापछि अनिवार्य अवकास पाएर घर जना लागेका दवाडीलाई काठमाडौंको सिडीओ बनाईएको भन्दै गृहका धेरै सह–सचिवहरुले असन्तुष्टि जनाए ।

‘सिडीओ बन्न कांग्रेसको जिल्ला सभापती र सम्वन्धित जिल्लाको प्रभावशाली सांसदको एग्रिमो अनिवार्य हुनुपर्ने गलत संस्कारको विकास भएको छ’ गृहका एक उच्च अधिकारीले भने, ‘मैले जागिर खाएपछि सिडीओ सरुवामा यत्तिसम्म राजनीतिकरण भएको देखेको थिइनँ ।’

उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख जिल्ला अधिकारी हुनका लागी सम्वन्धित जिल्ला कांग्रेसको एग्रिमो अनिवार्य गरेका कारण गृहप्रशासनका कर्मचारी असन्तुष्ट भएका छन् ।
निधिले गृहमन्त्रालयको बागडोर सम्हालेपछि केही कांग्रेस भनेर ल्याइएका र केही कांग्रेस विरोधी भनेर मन्त्रालय तानिएका १८ जना उप–सचिव काम विहीन भएर बसेका छन् ।
‘कांग्रेसको एग्रिमो पाएर जिल्लामा नयाँ सिडीओ गएपछि मन्त्रालय फकाइएका उप–सचिवहरुले काम पाएका छैनन्’ गृहका ति अधिकारीले भने, ‘उनीहरु हाजिर गर्छन, घाम तापेर फर्कन्छन् ।’

सह–सचिवनै हाजिर गरेर हिँड्छन्
गृहमा १८ जना उप–सचिव मात्र काम विहीन भएका छैनन्, कांग्रेसले मन नपाराएका तिन सह–सचिव समेत हाजिर मात्रै गरेर घर फर्कन्छन् । जिल्लाबाट सरुवा भएपछि अन्यत्रको एग्रिमो ल्याउन नसक्दा उनिहरु यसरी हाजिर गरेर टाप ठोक्न बाध्य भएका हुन् । यसरी काम बिहीन भएका सह–सचिवहरुमा केशवराज आचार्य, मेघनाथ काफ्ले र तेजप्रसाद काफ्ले रहेका छन् ।

केशवराज आचार्यलाई निधिले भक्तपुरको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा तानेका थिए ।
यसरी मन्त्रालमाय सह–सचिव काम बिहीन भएर बसेपनि सह–सचिव दरबन्दी भएका सात जिल्लामा उप–सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको करिब डेढ महिना भैसक्यो ।

गएको मंसिर ९ गते गृहमन्त्री निधिले तनहुँ, रौतहट, सिन्धुपाल्चोक, धादिङ, सिरहा, सर्लाही र डोटीमा प्रशासनिक परम्परा विपरीत उप–सचिवहरुलाई कामु प्रजिअको पत्र थमाएर पठाएका थिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्ण दुवाडी अध्ययन विदा लिएर विदेश गएपछि अन्तरबहादुर सिलवाललाई सिन्धुपाल्चोकको कामु प्रजिअ बनाईएको थियो ।
भुकम्प पछि पुनर्निर्माणको काममा महत्वपुर्ण भुमिका हुने सह–सचिव दरबन्दी भएको ठाउँमा यसरी उप–सचिवलाई कामु दिएपछि गृहका कर्मचारी असन्तुष्ट बनेका छन् ।
सचिव भन्छन्, ‘मन्त्रीको जो आज्ञा !’

प्रमुख जिल्ला अधिकारी हुन इच्छुक सह–सचिवहरु आजभोलि गृह सचिव लोकदर्शन रेग्मीको कार्यकक्षमा पुगे भने प्रायः सवैले एउटै उत्तर पाउँछन्, ‘सिडीओ बनाउने सवालमा मन्त्रिज्यूले जे भन्नुहुन्छ त्यही हो !’

सामान्य तया प्रमुख जिल्ला अधिकारी सरुवा गर्ने सवालमा सचिव र मन्त्रीको आपसी समझदारी हुनुपर्ने भएपनि निधिले एकलौटी पेलेर निर्णय गर्नथालेपछि गृहसचिव ब्याक भएको मन्त्रालयका एक सह–सचिवले जानकारी दिए ।