लोकतान्त्रिक गठबन्धनका लागि सात सदस्यीय कार्यदल गठन

काठमाडौं-  एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीले चुनावी सहमतिको घोषणा गरेको २४ घण्टा नबित्दै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, राप्रपा(राष्ट्रवादी), नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाल संलग्न ६ दलबीच चुनावी मोर्चाका लागि आवश्‍यक गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ६ बजेदेखि ८:४५ बजेसम्म कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा सो सहमति भएको हो।

सात सदस्यीय कार्यदलमा कांग्रेसबाट दुई र अन्य पाच दलबाट एक÷एक जनाको प्रतिनिधित्व हुने भएको छ। कार्य दलमा रहने सदस्यहरुको नाम बिहिबार बिहान ८ बजेसम्म प्रधानमन्त्रीलाई उपलब्ध गराउने र बिहान ९ बजे बैठक बस्ने भएको छ।

सात सदस्यीय कार्यदललाई बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा ६ पार्टीको चुनावी तालमेल, साझा चुनावी घोषणा पत्र, चुनावी सहभागिताका लागि आवश्यक रोडम्याप दुई दिन भित्र तयर गर्ने कार्यविधि दिएको जानकारी राप्रपाका एक नेता दिए।