अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सडकमा स्टेज कार्यक्रम गर्न रोक

काठमाडौं ।अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पूर्व सन्ध्यामा उपत्यकाका सडकहरूमा स्टेज कार्यक्रम गर्न नपाइने भएको छ ।

उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गरेर आउँदो शनिबार र आइतबार सडकमा स्टेज कार्यक्रममार्फत गरिने शुभकामना आदानप्रदानमा प्रतिबन्ध लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ‘अपराध र दुर्घटनामुक्त उपत्यका बनाउने उद्देश्यले एकीकृत सुरक्षा योजना लागू गरेका हौं ।’

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर स्टेज कार्यक्रम गर्न नदिने निर्णय लिइएको हो ।

ठमेल,दरबारमार्गसहितका क्षेत्रमा सुरक्षाकर्मी नै परिचालन गरिनेछ भने ललितपुरमा जावलाखेल, झम्सीखेल क्षेत्रमा प्रहरी बढी केन्द्रित हुनेछन् ।

शनिबार र आइतबार उपत्यकामा २ हजार प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ट्राफिक प्रहरीले पनि एक सय १५ स्थानमा सवारी जाँच गर्ने डिआइजी अर्यालले जानकारी दिएका छन् ।