महोत्तरी, ६ पुस । महोत्तरीको बर्दिवासस्थित मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको छ ।
एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका– २ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको हो ।
भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृतबस्ती निर्माण गरेका धुर्मुस– सुन्तलीले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गाँस, बास र कपासको समेत समस्या रहेको मुसहरबस्तीमा बसोबास गर्ने ५० परिवारलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको धुर्मुस– सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।
रु चार करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउन्डेसनले गिरान्चौर एकिकृत नमुनाबस्ती निर्माणबाट बचेका रु एक करोड ३ लाख ६६ हजार ३०१ सो बस्ती निर्माणका लागि खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
यहाँको ५० घरलाई आधुनिक वातावरणमा आधारित एकीकृत नमुनाबस्ती निर्माण गरिने छ, फाउन्डेसनका प्रबन्धक अर्जुन न्यौपानेले आधुनिक एवम् सभ्यवातावरणसहितको नमुनाबस्ती निर्माणका लागि सबैलाई आ–आफनो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।






