काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले बिहे गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) भएको छ ।
अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुशुमबीच विवाहको प्रसङ्ग २ वर्षदेखि नै चलेको थियो । अध्ययनलगायतका कारणले सरेको थियो । यही माघमा विवाह गर्ने तयारीमा दुवै परिवार रहेको बताइएको छ ।
अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका छन् । निशाकुसुमले भने नयाँ दिल्लीबाट एमबिबिएस गरेकी छन् ।
कार्यक्रममा पूर्व राष्ट्रपति यादव भने उपचारका लागि अमेरिकामा रहेकाले सहभागी भएनन् ।






