दूतावासको सेवामा आमूल सुधार गर्ने राजदूतको प्रतिबद्धता

लन्डन– बेलायतका लागि नवनियुक्त राजदूत डा। दुर्गाबहादुर सुवेदीले दूतावासको सेवामा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
लन्डन मिसन सम्हालेको आठौं दिन शुक्रबार साँझ दूतावास भवनमा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुमाझ उनले दूतावासको सेवा छिटो, सहज र सुलभ बनाउने प्रतिबद्धता जनाए । उनले सकेसम्म जनमैत्री, प्रविधिमैत्री र नेपाली मैत्री बनाइने पनि जनाए ।

बेलायतस्थित नेपाली समुदायबाट रचनात्मक र सकारात्मक सुझाव लिएर अगाडि बढ्न आफूले चाहेको बताउँदै उनले सञ्चारकर्मीमाझ अनुरोध गरे, ‘केही कमजोरी भए सिधै हामीलाई भन्नुस्, हामीलाई सुधार्ने मौका दिनुस् न कि पहिल्यै जनतालाई एकतर्फी समाचार ।’

सुवेदीले दूतावासमा कसैलाई पाखा र कसैलाई काखा नगर्ने दाबी गरे । डा. सुवेदीले दूतावासका कुनै कर्मचारीले अशिष्ट व्यवहार, भ्रष्टाचार वा अन्य गलत काम गरेको भेटिए तुरुन्त काठमाडौं फर्काइदिने चेतावनी पनि दिए ।

दूतावासमा केही सुधारका काम भइसकेको जनाउंदै उनले टेलिफोन, इमेलको तत्काल जवाफ दिने र भिजा, राहदानी वितरण एवं कन्सुलर सेवा समय बढाइ सकिएको पनि उल्लेख गरे । कसैलाई अप्ठ्यारो परिस्थिति आइपरे दूतावास शनिबार, आइतबारका दिन पनि खोलेर काम गरिदिने विश्वास समेत उनले दिलाएका छन् ।

सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्धको २०० वर्ष गाँठ मनाइरहँदा ०१७ को मार्चसम्म पर्यटन सम्वन्धि कार्यक्रम, फोटो प्रदर्शनी, व्यापार मेला आदि गरि अन्तिममा ग्रयाण्ड रिसेप्सनमार्फत दौत्य सम्वन्धको उत्सव बिट मार्ने सरसल्लाह गरिएको जनाए ।

बेलायती राजकुमार ह्यारीको केही महिना अघि नेपालमा भएको औपचारिक भ्रमण र नेपाली क्रिकेट टिमले बेलायतमा मैत्रीपूर्ण खेल खेल्नुले दौत्य सम्वन्ध विस्तारमा कोशेढुंगा सावित भएको पनि उनले उल्लेख गरे । ह्यारीको भ्रमणले भूकम्पपछि अन्तर्राष्ट्रिय स्तरमा खस्किएको नेपालको छवीमा सुधार आएको पनि उनले बताए ।

दुई वर्षभित्र दुवै देशका उच्चस्तरिय भ्रमण आदानप्रदानको कार्यक्रम राखिएको पनि उनले जानकारी दिए । नेपालका प्रधानसेनापतिको भ्रमण कार्यक्रम राखिएको अवगत गराउंदै राजदूत सुवेदीले दुवै देशका 
परराष्टमन्त्री लगायतको उच्चस्तरिय भ्रमण गराउने र सम्भव भएसम्म नेपालीले भिजा लिन ब्रिटिश हाइ कमिसन, नयाँदिल्ली जानुपर्ने वाध्यताको अन्त्य गर्न कुटनीतिक संवाद र सिधा हवाइ सम्पर्कका लागि संवाद थालिने कार्ययोजना पनि सुनाए ।

सुवेदीले कन्भेन्सनल डिप्लोपेसी, पोलिटिकल डिप्लोमेसी, डेपलप्मेन्ट डिप्लोमेसी एवं सोसियो कल्चरल डिप्लोमेसी आफ्नो प्राथमिकता रहेको पनि जनाए ।

भूपू गोर्खा समस्या समाधानको प्रतिवद्धता
राजदूत डा. सुवेदीले भूपू गोर्खाहरुको माग सम्वोधन र समाधान ज्वलन्त मुद्दा रहेको उल्लेख गर्दै कुटनीतिक संवादद्वारा यसको सामाधान गर्न पहल गर्ने बताएका छन् ।

उनले भूपू गोर्खाहरुलाई आफ्ना माग लिएर युरोपेली अदालत गइहाल्न नहुने पनि बताए । ‘यसले असहज र अप्ठ्यारो परिस्थिति निम्त्याएको छ तर सहमति, सम्झौता र सकारात्मक निचोडमा पुगिने मेरो विश्वास छ,’ उनले भने ।