टोयक पीडित विद्यार्थी निस्किए लन्डनको सडकमा

लन्डन– टोयक पीडित विद्यार्थीले आफूहरुमाथि ज्यादती भएको भन्दै लन्डनमा प्रदर्शन गरेका छन् ।

टोरी सरकार र होम अफिसले आफूहरुलाई ज्यादती गरेको, बिना प्रमाण नक्कली परीक्षाको आरोप लगाएको र आधारहीन तथ्यको आधारमा दु:ख दिएको भन्दै टोयक पीडित विद्यार्थीले आइतबार प्रदर्शन गरेका हुन् ।
पीडित विद्यार्थीको समूहले टोरी हेडक्वाटर अगाडि प्रदर्शन गरेको हो ।

यूके विद्यार्थी युनियन (एनयूएस) को संयोजकत्वमा भएको विरोध प्रदर्शनमा टोयक पीडित विद्यार्थीले ब्यानर, पम्पलेट र प्ले कार्ड बोकेका थिए ।

होम अफिसले करिब ५६ हजार अन्तर्राष्टिय विद्यार्थीलाई टोयक अंग्रेजी भाषा परीक्षामा चिट चोरेको आरोपसहित भिजा रद्द गरिदिने, भिजा आवेदन अस्वीकार गरिदिने, देश निकाला गर्ने वा गिरफ्तार गरेर डिटेन्सन सेन्टरमा राख्ने काम गर्दै आएको थियो । यसबाट नेपाली विद्यार्थीमात्रै करिव ३ हजार पीडित हुने अनुमान गरिएको छ ।