ओलीले भने–कांग्रेस सिकार खाएपछि उत्तानो परेर सुतेको बाघजस्तो भयो

काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस माओवादीले सरकारमा बसेर मनपरी गर्दा पनि मौन भएको बसेको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले मनपरी गरेपनि पहिलो पार्टी समेत रहेको कांग्रेस भने चुपचाप बस्नु आश्चर्यजनक भएको उनले बताए ।
पत्रकार गोपाल खनालद्वारा लिखित ‘भूराजनीति’ नामक पुस्तकको आइतबार राजधानीमा विमोचन गर्दै ओलीले भने, ‘कांग्रेस देश संकटमा फस्न लाग्दापनि चुईँक्क बोल्दैन । बाघले सिकार खाईसकेपछि उत्तानो परेर सुते जसरी सुतिरहेको छ । के खाएर सुतेको कांग्रेस ?’ उनले कांग्रेससँग विपीको नाम भएको तर नीति र विचार भने प्रष्ट नभएको आरोप लगाए ।
चीनबाट बाटो खोलेर यातायातका साधन चलाउँदा पर्यावरण बिग्रन्छ भनेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले अभिव्यक्ति दिएको भन्दै उनले त्यसको कडा आलोचना गरे । ‘उनी यो सरकारको प्रवक्ता सरकारको होकि माओवादी को हो ?’, उनले भने ।
उनले आफू प्रधानमन्त्री हुँदा चीनसँग सन्तुलिन राष्ट्रवादको नीति अपनाएर सन्धि सम्झौता गरेको समेत स्पष्ट पारे ।
सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशमा लम्पसार पर्ने प्रवित्ति, दशैं बेचिहाल्यो भन्ने गलत प्रवित्ति र आत्मसम्मान राख्नुपर्छ भन्ने प्रवित्ति रहेको आफू आत्मसम्मान राख्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।

यस्तै एमाले नेता माधव नेपालले माओवादीलाई शान्ति प्रक्रियामा आफूले ल्याएको भन्दै अब देशमा शान्ति र संविधान आइसकेको अवस्थामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सो क्रममा कांग्रेस नेता रामशरण महत, विश्लेषक तुलानाराण शाह, राजन भट्टराईलगायतले पुस्तकबारे धारणा राखेका थिए ।