कागजलाई ‘डलर’ भन्दै झुक्याएर चार लाख ठग्ने पक्राउ

बर्दिबास– ‘अहिले हामीलाई पैसाको समस्या छ, चार लाख दिनुस्, हामीसँग भएको अमेरिकी डलर राख्नुस्, लाखौं आउँछ’ भन्दै कालो कपडामा बेरिएको कागजको बिटो थमाएर भाग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर कटारीका मनकुमार दनुवार र सिन्धुपाल्चोकका मिङमार लामा छन् । दनुवार र लामाको साथबाट अमेरीकन डलर ४२९ थान, ७० हजार नेपाली रुपैयाँ, नोकिया मोवाईल १ थान, माईक्रोम्याक्स मोवाईल १ थान र बा. १० प. १८८० नम्बर हार्टफोर्ट मोटरसाईकल बरामद गरिएको ईलाका प्रहरी कार्यालयका डिएसपी दिपक पोखरेलले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
बिहिबार बिहान ११ बजे दनुवार र लामाले बर्दिबास नगरवालिकाको गलटार टोलको बाँसको झ्यांग नजिकै सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बालजीत राई र राजकुमार राईसंग दुई–दुई लाख लिएर नक्कली अमेरिकी डलर दिएर भागेका थिए ।

उनिहरुले पिडीत राजकुमार राईको झोलामा कालो कपडाले बेरेको कागजको बिटा (नक्कली अमेरीकन डलर) हालिदिएको प्रहरीले जनाएको छ ।

‘उनिहरु भागेपछि बल्ल हामीले ठगीएको थाहा पायौं’ बालजित राईले भने, ‘
पहिला अमेरीकन डलर उनीहरुले हामीलाई देखाए, त्यसपछि हामीले चार लाख रुपैंया उनीहरुलाई दियौं ।’

चार लाख लिएपछी उनीहरुले पीडित राजकुमार राईले बोकेको झोलामा झोलामा हतार–हतार कालो कपडाले बेरेको काजगको बिटा राखेर भागेका थिए । बालजित र राजुकमारलाई धरानबाट बर्दिबास बोलाएर ठग्ने समुहका एकजना अझै फरार रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।