लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा सरकारः महरा

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन आर्थिक पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र नेपाल र नेपालीको हातमा ल्याउन अझै धेरै सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

“अर्थतन्त्र अझै पनि नेपालीको हातमा छैन, जसरी राजनीति सही ट्र्याकमा आउन समय लागेको थियो अर्थतन्त्रलाई पनि सही ढङ्गले अघि बढाउन धेरै मिहेनत गर्नुपर्छ” – उहाँले भन्नुभयो ।

स्वस्थ्य प्रतिस्पर्धात्मक राजनीतिले मात्रै स्वस्थ्य अर्थतन्त्रको सुदृढ हुने उल्लेख गर्दै उपप्रम महराले उत्पादनशील उद्योगको प्रवद्र्धन, प्रोत्साहन तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पत्रकारिता पेसा अमर्यादित र विकृतिमय बनेको कटाक्ष गर्दै भन्नुभयो- “पत्रकारिता पेसामा यति विकृति आएको छ, कि पत्रकारले अन्य केही नपाएपछि यो पेसा रोजेजस्तो भान भएको छ, अन्य मुलुकमा धेरै पढेलेखेका व्यक्ति मात्र पत्रकारितामा लाग्छन् ।”

उहाँले आर्थिक पत्रकारिता सबल भए मात्र मुलुकको अर्थतन्त्र राम्रो हुने भन्दै पत्रकारितामा मौलाएको विकृति र ‘बार्गेनिङ’ गर्ने प्रवृत्तिको अन्त्य गर्न सेजनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले समाजलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा आएको भन्दै त्यसका लागि मर्यादित पत्रकारिताको खाँचो औँल्याउनुभयो ।

सेजनका अध्यक्ष गोकर्ण अवस्थीले सेजनलाई व्यावसायिक र मर्यादित संस्थाका रुपमा स्थापित गराउन लागिपरेको उल्लेख गर्नुभयो ।

साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन तथा सेजन कल्याण कोष सञ्चालन कार्यविधि पारित गर्दै आर्थिक पत्रकार आचारसंहिता संशोधनसहित पारित गर्ने निर्णय गरेको छ ।