विषाक्त खाना खाँदा रुपन्देहीमा ३२ जना बिरामी

रुपन्देही २७ असोज  । रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनी बजारका दलित समुदायका ३२ जना व्यक्ति एकैपटक विषाक्त भोजनका कारण बिरामी परेका छन् ।

स्थानीय सन्तनारायण विकको घरमा सोमबार श्राद्ध खान गएका आफन्तहरु एकपछि अर्को अस्वस्थ भएपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको छ ।

अस्पतालका निमेसु डा राजेन्द्रप्रसाद खनालका अनुसार मङ्गलबार र बुधबार दुई दिन देवदहमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा ३२ जना बिरामी आएको हुन् ।

मङ्गलबार २३ जना र बुधबार थप नौ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आफूहरुले पुरी, तरकारी, काँक्रोको अचारलगायतका परिकार खाएका अस्पतालमा भर्ना बिरामीले बताएका छन् । उनीहरुमा ज्वरो आउने, झाडापखाला लाग्ने जस्ता समस्या देखिएको बताइएको छ । अझै केहीले अस्पताल भर्ना हुन पाएका छैनन् ।