महिला सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षको प्रतिस्पर्धामा को–को ?

काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन ३१ गतेसम्म हुनेछ ।

महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ ।

महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खान बस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने अध्यक्ष डीना सङ्ग्रौलाले बताइन् । त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आएका छन् ।

सङ्घको अध्यक्ष पदका लागि उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुबैले उम्मेद्वारी घोषणा गरिसकेका छन् । रेग्मी सभापति शेरबहादुर देउवा पक्षकी हुन् भने पाण्डे नेता रामचन्द्र पौडेल गुटकी हुन् ।

२००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।

स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुने भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष भएका छन् ।