काठमाडौं–नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशनमा अन्तर्घात भएका कारण आफूले पराजय व्यहोरेको दाबी गर्दै त्यसको क्षतिपूर्ति महिला संघको महाधिवेशनबाट उठाउने बताएका छन् ।
कांग्रेस नेता पौडेलले मंगलबार काठमाडौको एउटा पार्टी प्यालेसमा मीना पाण्डेलाई संघको अध्यक्षको उम्मेद्वार घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अन्तर्घात र धोका भएका कारण आफूले महाधिवेशनमा पराजय व्यहोर्नुपरेको र त्यसकै कारण काँग्रेस कमजोर बन्दै गएको समेत दाबी गरे ।
उनले वीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले अगाडि बढाएको काँग्रेस कहाँ छ ? भनेर प्रश्न गर्दै महिला संघको महाधिवेशनबाट आफ्नो पक्षले पार्टीमा प्रभाव बढाएर देखाउने दाबी गरे ।
काँग्रेस नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टीलाई नै कमजोर तुल्याउने गरी सत्ताको खेलमा लागेको तथा पैसा र गुण्डाको प्रयोगलाई प्राथमिकता दिएको आरोप लगाए ।
उनले सभापति देउवाको नाम नलिइ पैसा र गुण्डाको प्रयोगविरुद्ध पार्टीभित्रै आन्दोलन गर्न आवश्यक रहेको भन्दै आन्दोलनको सुरुवात गर्न महिला नेतृहरुसँग आग्रह गरे ।
पौडेलले तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्षको अवधि पनि नरहेको भन्दै सत्ताको खेलमा भन्दा संविधानको कार्यान्वयनमा गम्भिर हुन पाटी सभापति देउवासँग आग्रह गरे ।






