पहिरोमा ताप्लेजुङमा एकजनाको मृत्यु, तीन जना पुरिए

ताप्लेजुङ– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिकामा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ भने तीन जना पुरिएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले दिएको जानकारी अनुसार पहिरोमा पुरिएर ठूली कान्छी भनिने एक महिलाको भृत्यु भएको छ । पहिरोमा पुरिएको अवस्थामा एकको घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका आठका भुवानी शंकर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगत बहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक, गंगामाया भट्टराई लगायतको घरहरुमा क्षति पुगेको छ ।

यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा नेत्रप्रसाद भट्टराई सहित अन्य छ जनाको घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने ठाँउठाँउमा पहिरो झरेपछि मेचीराजमार्ग समेत अवरुद्ध बनेको छ ।