काठमाडौं– कानुनमन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सबै ऐन तथा कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका हुन् । उनले भने,‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुनहरु धमाधम निर्माण गर्ने काम भैरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको छु ।’
मन्त्री नायकले सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएकोले आवश्यक विद्येयकहरु तिव्र गतिमा निर्माण भैरहेको जनाए । उनले अघि थपे,‘संविधान कार्यान्वयन हुँदैन कि भनेर अहिले शंका–उपशंका भैरहेको छ, ढुक्क हुनुहोस संविधान कार्यान्वयन हुन्छ ।’
मन्त्री नायकले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न समेत आफूले निर्देशन दिएको जनाए । भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद, न्याय सेवा गठन लगायत अन्य कुराहरुमा समेत कानुन निर्माण छिट्टै गरिने मन्त्री नायकको विश्वास थियो ।
त्यस्तै उनले तीन वर्षभित्र गर्नुपर्ने कामहरु समेत सरकारले प्राथमिकताका आधारमा गर्ने तयारी गरेको स्पष्ट पारे । नायकले शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्याउन टिआरसीसम्बन्धी बनेको विद्येयक संशोधन गर्ने गृहकार्यमा आफू जुटेको स्पष्ट पारे ।
नायकले संविधानका ३१५ वटा ऐनमा शब्द संशोधन वा पूर्नलेखन गर्नुपर्ने भएकाले त्यसलाई पनि चाँडै टुँक्याउने गरि काम थालेको जनाए ।
उनले असन्तुष्टहरुको माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्ताव अघि बढाउने जनाए । उनले अघि थपे,‘समय तोक्दिन तर छिट्टै संशोधन प्रस्ताव अघि बढ्छ, दलहरुवीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निश्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ ।’
संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने ऐन, कानुनहरु संसदले छिट्टै अनुमोदन गर्छ : कानुनमन्त्री






