काठमाडौं: चर्चित लोक तथा आधुनिक गायक खेमराज गुरुङको बिहीबार अपरान्ह निधन भएको छ ।
जन्डिस भएर कलेजोमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका ४१ वर्षीय गायक गुरुङको उपचारका क्रममा निधन भएको हो ।
कलेजोमा समस्या आएका उनको उपचारका क्रममा मृगौलामा पनि समस्या आएपछि स्वास्थ्य जटिल बनेको थियो ।
कुनैबेला ‘वारि जमुना पारि जमुना’ गीत गाएर चर्चाको शिखरमा पुगेका गायक गुरुङको कलेजोले काम गर्न छोडेपछि मेडिकेयरमा उपचार थालिएको थियो ।
संखुवासभामा जन्मिएका गुरुङको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिएको थियो ।
तर मेदान्ताका चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जटिल भएकाले उपचार सम्भव नहुने भन्दै नल्याउन भनेपछि मेडिकेयरमै राखिएको थियो ।
मेदान्नताका चिकित्सकहरुले उपचार सम्भव नहुने बताएपछि गुरुङको मेडिकेयरको भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको उनका साथी गायक भिषण मुकारुङले जानकारी दिए ।
गुरुङले ‘वारि जमुना पारि जमुना’ सहितका चर्चित लोक तथा आधुनिक गीत गाएर चर्चा बटुलेका थिए ।
गुरुङको जीवन भाग-२ एल्बमको ‘वारि जमुना पारि जमुना’ नेपालीको जिब्रोमै झुन्डिएको थियो । त्यसैगरी उनले गाएको भन्छन् बुढापाकाले लोकगीत पनि उत्तिकै चर्चित भएको थियो ।
उनले जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर एल्बम बजारमा ल्याएका थिए ।






