काठमाडौं–नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन लगायतका आन्तरिक मामिलाबारे भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र पठाएर गल्ती गरेको भन्दै पत्र सार्वजनिक गर्न माग गरेको छ ।
नेकपा एमालेले साउन ३० गते सुरु भएर भदौ ७ गते सकिएको स्थायी कमिटीको बैठकले गरेका निर्णय बुधबार अपरान्ह सार्वजनिक गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई पठाइएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।
सरकारले दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाएर मुलुकको आन्तरिक समस्याबारे विदेशी भूमिमा छलफल गर्नु आपत्तिजनक भएको एमालेको भनाइ छ ।
एमाले महासचिव इश्वर पोखरेलले सरकारले संविधान संशोधन र अन्य आन्तरिक मामिलाका बारेमा भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएर मुलकको स्वाधनिता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पु¥याएको आरोप लगाए ।
एमालेले आन्तरिक मामिलामा वाह्य चासो निम्त्याएर सरकारले शिर झुकाउने काम गरेको आरोप लगाउँदै नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्याउने कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।
एमालेले संविधान गतिशील दस्तावेज भएपनि प्रदेशको सीमांकन हेरफेरका लागि संशोधन आवश्यक नरहेको बताएको छ ।
एमालेले स्थायी कमिटीको ६ नम्बर निर्णयमा मुलुकका राजनीतिक दलहरुले आवश्यकता महसुश नगरी कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मूल कानून संशोधन हुन नसक्ने बताएको छ ।
एमालेले स्थानीय तहको पुनर्संरचना आयोगले प्रस्ताव गरेको संख्याका बारेमा खासगरी सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आपत्ति जनाएकाप्रति असन्तुष्टि जनाएको छ । एमाले महासचिव पोखरेलले संविधान अनुसार गठन भएको आयोगले काम पूरा नगर्दै स्थानीय तहको संख्यालाई लिएर आयोगलाई निरुत्साहित तुल्याउने गरी विवाद् खडा गरिएकामा एमालेको असहमति रहेको बताए ।






