काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनका विषयमा भारतमा छलफल गरेको भन्दै सरकारको आलोचना गरेको छ ।
व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद्हरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन हुन्छ भनेर चिठी दिइनु आपत्तिजनक भएको भन्दै सरकारको आलोचना गरेको हो ।
प्रधानमन्त्रीको विशेष दूतका क्रममा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने बुँदासहितको प्रधानमन्त्री दाहालको पत्र बुझाएका थिए ।
एमाले सांसद् यज्ञराज सुनुवारले संविधान संशोधनका बारेमा दिल्लीमा छलफल गर्न पुगेर सरकारले दिल्लीको इशारा विना केही काम हुँदैन भन्ने सन्देश दिएको भन्दै यो राष्ट्रिय लज्जाको विषय भएको बताए ।
नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि नेपालको संविधान संशोधनका विषयमा दिल्लीमा छलफल हुनु राष्ट्रियताको दृष्टिले चिन्ताको विषय भएको बताए ।
संसद् बैठकमा विशेष समय लिएर बोलेका एमालेका सांसद्हरुले भुकम्प प्रभावितहरुलाई घर बनाउनका लागि पहिलो किस्ताको रकम दिन ढिलाइ गरिएकाप्रति खासगरी काँग्रेसमाथि कटाक्ष गरे ।
एमाले सांसद्हरु रामहरी सुवेदी र यज्ञराज सुनुवारले प्रतिपक्षमा रहेका बेला भुकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ दिनुप¥यो भनेर सदन अवरुद्ध गर्ने नेपाली काँग्रेसले सरकारमा गएपछि भुकम्प प्रभावितलाई किन विर्सियो भनेर प्रश्न गरे । उनले प्रतिपक्षमा छँदा चर्को स्वर गर्ने अनि सरकारमा गएपछि मुन्टो लुकाएर हिंड्ने काँग्रेसी प्रवृत्तिलाई भुकम्प प्रभावितहरुले नजिकबाट नियालिरहेको बताए ।
प्रतिपक्षी सांसद्हरु खनिएपछि सत्तारुढ काँग्रैसकै सांसद्हरुले पनि भुकम्प प्रभावितहरुलाई पहिलो किस्तास्वरुप डेढ लाख रुपैयाँ दिने भनेर संसद्मार्फत गरिएको घोषणा तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
संसद् बैठकमा केही सांसद्ले गाइजात्रा पर्व उपत्यका वाहिरका जिल्लामा पनि मनाउने गरिएकाले यो पर्वमा राष्ट्रिय विदा दिइनुपर्ने माग गरे । सांसद्हरुले शुन्य र विशेष समय लिएर एक घण्टा बोलेपछि संसद् बैठक भदौ १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।






