संविधान संशोधन गर्न आवश्यक छः सभामुख घर्ती

काठमाडौं–सभामुख ओनसरी घर्तीले मधेशवादी र आदिजवासी जनजाति सम्बद्ध दलहरुका असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक रहेको बताएकी छन् ।

सभामुख घर्तीले आइतबार सांसद्हरुको उपस्थितिमा काठमाडौमा गरिएको एक कार्यक्रममा अहिले सतहमा देखिएका संविधानसँग सम्बन्धित विवाद् समाधानका लागि संशोधन आवश्यक रहेको बताइन् ।
उनले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गरेपछि मात्र संविधानले परिकल्पना गरेका आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुने बताइन् ।
संविधान संशोधनका लागि मुख्य राजनीतिक दलहरुले सहमति जुटाउनेमा आफू विश्वस्त रहेको समेत उनले बताइन् ।

सभामुख घर्तीले विकास आयोजनाहरुको कार्यान्वयनमा समस्या रहेका कारण जनताले लाभ पाउन नसकेको भन्दै आयोजनाहरुको काम प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर हुनुपर्ने बताइन् ।
उनले योजनाको तर्जुमा भन्दा पनि कार्यान्वयन मुख्य समस्या भएकाले संसद् पनि विकास आयोजनाहरुलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रीत रहेको बताइन् ।