वीर अस्पतालमा रेडियसन मेसिन बिग्रियो

bir hospitalकाठमाडौँ, २४ साउन । नेपालको पुरानो अस्पताल वीरमा क्यान्सरका नयाँ बिरामी भर्ना हुन आउनेको सङ्ख्या घटेको छ ।

अस्पतालको क्यान्सर विभागमा रहेको २२ वर्ष पुरानो रेडियसन मेसिन बिग्रेर काम नलाग्ने भएपछि नयाँ बिरामी भर्ना हुने क्रम घटेको हो ।

विभागका प्रमुख डा विवेक आचार्यले मेसिनको कोबाल्ट सोर्स र कम्प्रेसरले काम गर्न नसक्ने भएपछि रेडियसन पद्धतिद्वारा उपचार गर्नुपर्ने बिरामी भर्ना गर्न छाडेपछि बिरामी पहिलेको दाँजोमा कम आउने गरेको बताए ।

दैनिक ६० देखि ७० जना क्यान्सरका बिरामी आउने गरेकोमा अहिले दैनिक ३० देखि ४० जना बिरामी मात्र आउने गरेको प्रमुख डा आचार्यको भनाइ छ ।

देशका विभिन्न भागबाट सस्तोमा उपचार पाउने आशामा वीरमा आउने गरिब जनता अस्पतालमा मेसिन बिग्रेर सेवा नै बन्द गर्नुपर्ने अवस्था आए पनि मन्त्रालय र सरकारले नयाँ मेसिन खरिदमा चासो नदिएको विभागमा कार्यरत चिकित्सकले गुनासा गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा गणेश गुरुङले मेसिन नहुँदा क्यान्सर विषयमा अध्ययन गर्दै गरेका विद्यार्थी पनि समस्यामा परेको बताए ।

उहाँले मेसिन खरिदका लागि स्वास्थ्य मन्त्रालयमा पुनः पत्राचार गरेको जानकारी दिए ।

गत आवमा सरकारले मेसिन खरिदका लागि रु १२ करोड छुट्टाएको थियो । टेण्डर प्रक्रियामा कुरा अगाडि बढ्न नसकेपछि मेसिन किन्ने कुरा सेलाएको थियो ।