काठमाडौं, फाल्गुन १७ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाको संवैधानिक समितिमार्फत संविधान लेखन प्रक्रिया अगाडि बढाउन सत्ताधारी दल तयार भए आजै वार्तामा बस्ने बताएका छन् । उनले वार्ता गर्ने नगर्ने चाहीं सरकारमा निर्भर रहने बताए । हिजो नयाँबानेश्वरमा प्रहरीसँगको झडपमा घाइते भएका कार्यकर्तालाई कान्तिपुर अस्पतालमा भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण हुने बताउँदा बताउँदै सरकारले कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउदै आपत्ति जनाए । सो अस्पतालमा प्रहरीसँगको झडपमा घाइते भएका एकीकृत माओवादी केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ लगायतको उपचार भइरहेको छ ।






