काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृसंस्था नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा पार्टीको कुनै हस्तक्षेप नहुने बताएका छन् ।
सङ्घको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अब देश हाँक्ने युवा पुस्ता नै हो भन्दै सङ्घको महाधिवेशनमा देखिएका विवाद विद्यार्थी नेताले नै मिलाउनुपर्ने बताए ।
आफू र आफ्नो पुस्ताका नेताले पार्टीका मुलुकका विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँदै सभापति देउवाले भने, “सङ्घको झगडा आफैँ मिलाउनुस्, विवादमा हामीलाई नतान्नुस् ।” कांग्रेस बलियो नभएसम्म प्रजातन्त्र खतरामा रहिरहने उनको धारणा थियो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विद्यार्थी नेताहरुलाई सङ्घमा हाबी हुँदै गएको पैसा र बाहुवलको प्रवृत्तिलाई अन्त्य गरेर राजनीतिलाई स्वच्छ र सम्मानित बनाउने अभियानमा लाग्न सुझाव दिए ।






