भरत पाण्डेय
काठमाडौं । कृषि बीमामा बीमा कम्पनीको चासो कम देखिँदा प्रभावहिन बन्ने देखिएको छ। कृषकको लागि आकर्षण बने पनि बालीनालीको मूल्यांकनको आधार केही नभएको भन्दै बीमा कम्पनीले कम चासो देखाएपछि बीमाको प्रभाव कम देखिएको हो।
बीमा समितिका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा चारवटा बीमा कम्पनीले मात्रै बाली बीमा गरेका छन्। सगरमाथा, एलाइन्स, युनाइडेट, र सिद्धार्थ इन्स्योरेन्सले मात्रै यो वर्ष बाली बीमा गरेका छन्। यसअघि बाली बीमा धेरै गर्ने एनएलजी इन्स्योरेन्सले भने यो वर्ष बाली बीमा नै गरेको छैन। हाल नेपालमा १७ वटा निर्जीवन बीमा कम्पनीमध्ये जम्मा ४ वटाले बाली बीमा गर्नु निकै कम भएको बीमा समितिले जनाएको छ।
सरकारले या ेवर्ष कृषि बीमाको प्रिमियम (बीमा शुल्क) मा ७५ प्रतिशत अनुदानको घोषणा गरेको छ। गतवर्ष प्रिमियम अनुदान ५० हजार मात्र थियो भने अहिले ७५ हजार र बिमांक सीमा अधिकतम रु. १ करोड मात्र तोकिएकोमा सीमा हटाइएको छ। किसानलाई राहत दिन सरकारका प्रभावकारी योजना आए पनि कार्यान्वयनको लागि प्रभावकारी प्रक्रिया नबन्दा बीमा कम्पनी आकर्षित नबनेका हुन्।
कृषि बीमा गर्न बीमा समितिले निर्देशन दिए पनि कसरी गर्ने भन्ने मापदण्ड बनाउन नसकेको कारण कृषि बीमामा बीमा कम्पनीको आकर्षण नदेखिएको बीमा समितिका निर्देशक श्रीमन कार्कीले बताउनुभयो।
उत्पादकत्व मूल्यांकन गर्न कठिन भएकाले बाली बीमा गर्न बीमा कम्पनीहरू आकर्षित नहुने बताउनुभयो। ‘कहाँ कति फल्छ भन्ने तथ्यांक छैन, जसकारण्ँ अहिले बाली बीमा गर्न कठिन छ’ उहाँले भन्नुभयो–‘यस्तो अवस्थामा पनि बीमा कम्पनीले आफैं मूल्यांकन गरेर बाली बीमा गर्न थालेका छन्। यो अत्यान्त्यै सकरात्मक छ।’
सरकारले कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम कम गरी ती व्यवसायतर्फ कृषकलाई आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी बढाउन २०६९ साल माघ १ गतेदेखि बाली तथा पशुपन्छी बीमा कार्यक्रम शुरू गरेको थियो। यो कार्यक्रमपछि ७४ करोड ९ लाख ३० हजार ६ सय १३ रुपियाँ बराबरको बीमा गरेका छन्।
गत आर्थिक वर्षभरमा ६२ करोड ५४ लाख ४ हजार ६ सय ३१ रुपियाँबराबरको बीमा गरेका थिए। त्यसअघि किसानले आफ्नै पहलमा पशुपन्छी बीमा गर्ने भए पनि आफ्नै जोखिममा त्यति प्रभावकारी हुन नसकेकाले सरकारले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० जारी गरेपछि भने बीमा गर्ने कार्यले तीव्रता पाएको थियो।
यसवर्ष भने प्राविधिक समस्या देखाउँदै कम्पनी कृषि तथा बाली बीमामा कम चासो देखाएपछि किसान चिन्तित बनेका छन्।
प्राविधिक समस्याका कारण्ँ बीमा कम्पनी कृषि बीमामा आकर्षित हुन नसकेको बीमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय शाहले बताउनुभयो। बीमा समितिको तथ्यांकअनुसार चालू आवको असोज मसान्तसम्ममा चार वटा बीमा कम्पनीले जम्मा १ सय ५५ वटा बाली बीमाको नीति बिक्री गरेका छन्।
कृषि बीमाप्रति कम्पनीको चासो कम






