प्रधानमन्त्री रुष्ट भएपछि सभामुखले बढाइन् सक्रियता

Onsari
काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध संसदमा कांग्रेस र माओवादी केन्द्रद्वारा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि उत्पन्न पछिल्लो परिस्थितिबारे सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अग्रसरता लिएकी छिन् ।

यसक्रममा आज विहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । आजै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी छिन् ।

संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि भोलिबाट छलफल गराउन संसद सचिवालयले समय तोकेको छ ।

तर नियमित कार्यसूचीमा रहेका आर्थिक विधेयकमाथिको छलफल नै रोकेर अविश्वासको प्रस्तावमा छलफल गाराउन खोजेको भन्दै प्रधानमन्त्री ओली र सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेले आपत्ति जनाएपछि सभामुख घर्ती बीच बाटोको खोजीमा लागेकी हुन् ।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले सभामुख घर्तीसँग संसदमा मतदान नै नभई सरकार कसरी अल्पमतमा परेको निष्कर्षमा पुग्नुभयो भन्दै प्रश्न गर्दै संसदको नियमावली र यसअघिका प्रचलित मान्यताअनुरुप संसदको कारवाही अघि बढाउन आग्रह गरेका थिए ।

सभामुखसँग रुष्ट देखिएका प्रधानमन्त्री ओलीले सभामुख पदको मर्यादा, निष्पक्षता र गरिमा कायम राख्न सुझावसमेत दिएका थिए ।