टर्कीको विमानस्थलमा आतंकवादी हमला, कम्तिमा ३६ को मृत्यु

istanbul-airport-6इस्तानबुल – टर्कीको इस्तानबुलस्थित आटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ९० जनाभन्दा बढी घाइते भएका छन् । डेली मेलले भने मर्नेको संख्या ५० भन्दा बढी रहेको दाबी गरेको छ ।

मारिनेमा धेरै टर्कीका नागरिक रहेको तर विदेशीहरु पनि हमलामा परेको हुनसक्ने टर्कीका अधिकारीहरुले जनाएको डेली मेलले उल्लेख गरेको छ ।

बिबिसीका अनुसार घटनामा तीन जना आतंकवादी संलग्न थिए । एके ४७ जस्ता स्वचालित हतियार लिएर विमानस्थलमा प्रवेश गरेका उनीहरुले अन्धधुन्द गोली प्रहार गरेका थिए । पछि प्रहरीले जवाफी कारवाही सुरु गरेपछि उनीहरुले शरीरमा भिरेको बम आत्मघाती विस्फोट गराएका थिए ।

टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरिमले यो घटना इस्लाम स्टेटका कट्टरपन्थीहरुले घटाएको हुन सक्ने बताएका छन् । आटाटुर्क विमानस्थललाई लामो समयदेखि आतंकवादी हमला हुने सम्भावित स्थानको सूचीमा राखेको थियो ।

टर्कीका राष्ट्रपति रेकेप टायिप एरडोगानले यस्तो घटना जहाँ पनि हुने सक्ने बताउँदै यो आतंकवादबिरुद्धको लडाइँमा नयाँ मोड भएको टिप्पणी गरे ।

अमेरिकाले यो आक्रमणलाई ‘जघन्य’ बताउँदै टर्कीलाई सबैप्रकारको सहयोग उपलब्ध गराउने बताएको छ ।

एक सिसी टिभी फुटेजमा प्रहरीले एक आतंकवादीलाई गोली हानेको र पछि ती आतंकवादीले आत्मघाती विस्फोट गराएको देख्न सकिन्छ ।