प्राध्यापकले नै क्याम्पसमा ताला लगाए

tala keyसिन्धुली, ७ असार । सिन्धुली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

गत फागुन महिनादेखि नै तलब नपाएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

क्याम्पस एकाइका अध्यक्ष टीकाबहादुर थापाले क्याम्पसमा शैक्षिक समस्या लामो समयदेखि रहेको, कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोषको रकम नआएको, प्राध्यापक तथा कर्मचारीले गत फागुन महिनादेखि नै तलब खान नपाएको लगायतका समस्या समाधान गर्न क्याम्पस प्रमुख उदासिन देखिएकले उहाँको कार्यकक्षमा अनिश्चित तालाबन्दी गरेको बताउनुभयो ।

पठनपाठन बन्द गर्नका लागि तालाबन्दी गरेको नभई समस्या समाधानका लागि क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेको उहाँको भनाइ छ ।

प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् ।